जनकपुरधाम। प्रदेश २ को राजधानी जनकपुरधाममा निषेधाज्ञा जारी गरिएको छ। कोरोना सङ्क्रमण बढ्दै गएपछि सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताको लागि जनकपुरधाम उपमहानगरपालिका भित्र निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो।

उपमहानगर क्षेत्रभित्र कोरोनाको जोखिम बढ्दै गएपछि निषेधाज्ञा जारी गर्ने निर्णय बताइएको छ। तोकिएको बाहेक कोही पनि बाहिर निस्कन पाउने छैन। 

कोरोना सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको सङ्क्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकुल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सबै सेवा र स्थलहरू सोमबार राति १२ बजेदेखि एक हप्तासम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा (६) ९३० र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जनकपुरधाम उपमहानगरपालिका भरि निषेधाज्ञा जारी गरिएको जनाइएको छ। 

जनकपुरधाममा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ। सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा कानून मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय लगायतका मन्त्रालयहरूमा कोरोना सङ्क्रमित फेला परिसकेका छन्।

यसभन्दा पहिले सप्तरीको राजविराज, पर्सा जिल्लाको वीरगन्ज, बारा, महोत्तरीको जलेश्‍वर नगरपालिका र महोत्तरी गाउँपालिकाको केही वडामा निषेधाज्ञा जारी गरिएको छ।