काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जना सङ्क्रमित भेटिएका हुन्।

यो सँगै कुल सङ्क्रमितको सङ्ख्या २० हजार ३३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। आइतबार कोरोना सङ्क्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन्। यो सँगै उपचार पछि निको हुनेका सङ्ख्या १४ हजार ६०३ पुगेको छ। 

साथै उपत्यकामा ३१ जना कोरोना सङ्क्रमित भेटिएका छन्। यससँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ६३४ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका १ जना रहेका छन्।

भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन्। यससँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा ४५० जना, ललितपुरमा १०५ जना र भक्तपुरमा ५९  जना कोरोना सङ्क्रमित पुगेका छन्।