काठमाडौँ। कतारबाट आज १५० नेपाली स्वदेश फर्किएका छन्। कोरोनाका कारण कतारमा अलपत्र परेका उनीहरु दोहाबाट नेपाल फर्किएका हुन्। स्वदेश फर्कनेमा आठजना महिला र १४२ जना पुरुष छन्।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको आरए २३९२ को चार्टर्ड उडानबाट स्वदेश फर्किएको कतारमा रहेको नेपाली दूतावासले जनाएको तत्काल स्वदेश फर्कनै पर्ने अवस्थाका नेपालीले राजदूतावासले तोकेको फाराम भरेर विभिन्न माध्यमबाट आफ्नो विवरण दूतावासमा बुझाएका थिए। त्यसैका आधारमा प्राथमिकता निर्धारण गरी उनीहरूलाई स्वदेश फर्काइएको हो। 

यो चार्टर्ड उडान दोहाबाट भएको २१औं उडान उडान हो। सरकारले कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका २०७७ स्वीकृत गर्दै विदेशमा अलपत्र नेपालीलाई उद्धार सुरु गरेको छ।
 
निर्देशिकाको दफा ६ अनुसार आफ्नै खर्चमा नेपाल फर्कन नसकी अलपत्र परेका कामदारका लागि कोषबाट स्वदेश फिर्ताका लागि रकम व्यहोर्ने जनाइएको छ। एक वर्षभन्दा कम रोजगार करार अवधिमा रोजगारी गुमाएका कामदारका लागि लाग्ने हवाई टिकट खर्चको शतप्रतिशत रकम कोषले व्यहोर्ने छ।

एक वर्ष वा सोभन्दा बढी रोजगार करार अवधिभित्र रोजगारी गुमाएको कामदारको लागि लाग्ने हवाई टिकट खर्चको ७५ प्रतिशत रकम कोषले बेहोर्नेछ र बाँकी खर्च श्रमिक स्वयंले बेहोर्नुपर्नेछ। पुनः श्रमस्वीकृति लिई गएको कामदारका हकमा हवाई टिकट खर्चको ५० प्रतिशत रकम मात्र कोषले व्यहोर्ने छ।