काठमाडौँ। सुनको भाउ तोलाको एक लाख नजिक पुगेको छ। आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यो अहिलेसम्मकै महँगो भाउ हो।

कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेको बेला सुनको भाउ भने दिनदिनै उकालो लागिरहेको छ। भाउ महँगो हुँदै गएपछि विभिन्न बैङ्कमा लकडाउन अघि नै ल्याइएका ३ सय ३० किलो सुन बिक्री हुन नसकेको महासङ्घले जनाएको छ।

केही वर्ष अघि सम्म तीज नजिकिएसँगै सुनको कारोबार बढ्ने गरेको भए पनि यसपालि कोरोनाका कारण मानिसले दैनिक उपभोग्य वस्तुलाई प्राथमिकता दिँदा कारोबार नहुने देखिएको छ। यस्तै आज चाँदी पनि तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँ पुगेको छ।