काठमाडौँ। लगातार वर्षाका कारण अबरुद्ध भएको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल तानसेन सडक पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने भएको छ।

पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै सडक भासिएपछि बुटवल–पाल्पा खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाएको थियो। आज विहानवाट मोटरसाइकल र कार जीप चलाउन मिल्ने सडक खुले पनि ठुला सवारी चल्न अझै केही दिन लाग्ने जनाइएको छ।

मालबाहक ट्रक, मिनी ट्रक तथा यात्रुबाहक बस सञ्चालनमा रोक लगाइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

करिब १२ मिटर सडकमा डेढ फुट चौडाइसम्मको सडक चिरा परेर फाटेको छ। तीन दिनअघि सामान्य चिरा परेको सडक शनिबार थप भासिएको हो।

सडक भासिएपनि बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङ लगायतका जिल्लातर्फ जाने र उताबाट बुटवलतर्फ आउने सवारी साधनहरु बीच सडकमै रोकिएका छन्।

अवरुद्ध सडक खुलाउन आइतबार बिहानदेखि काम शुरु भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।