सङ्खुवासभा। सङ्खुवासभाका चार हिमताल जोखिममा रहेका छन्। सङ्खुवासभाका १०४ हिमतालमध्ये लोवर वरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ।

मकालु बेसक्याम्प भन्दा तल रहेको लोवर बरुण हिमताल र भोटखोला गाउँपालिकास्थित हिमताल उच्च जोखिममा रहेको छ। सङ्खुवासभाका चार र तिब्बतका १७ वटा हिमताल फुट्ने जोखिममा रहेको बताइएको छ।

तिब्बतमा रहेका १७ वटा हिमतालको पानी अरुण नदी हुँदै नेपालतर्फ आउने गरेको बताइएको छ। कूल १.९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको लोवर बरुण हिमतालको लम्बाइ २.७ किलोमिटर र चैडाइ ६०० मिटर रहेको छ। नेपालमा पाँच हजार ३५३ तालमध्ये २० हिमताल फुट्ने जोखिममा रहेको र हिमालमा नयाँ ताल बन्ने र विलिन हुने प्रक्रियाका कारण तल्लो बस्ती जोखिममा रहेको हो। 

अरुण तथा वरुण नदी किनारमा भएका बस्तीलाई यसबारे सचेत गराउनुपर्ने आवश्यकता देखिएको बताइएको छ। यो हिमताल विस्फोट भएमा सङ्खुवासभा, भोजपुर, धनकुटा र सुनसरी जिल्लाका खोला किनारमा बसोबास गर्ने बस्ती उच्च जोखिममा पर्ने भएकाले यसतर्फ सचेत रहन सरोकारवालालाई इसिमोडले आग्रह गरेको छ।

हिमताल फुट्ने महिना
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अधिकारीहरूका अनुसार हिउँ बढी पग्लने, हिमताल र नदीहरूमा धेरै पानी हुने भएकाले यतिबेला हिमताल फुट्ने सम्भावना बढी हुन्छ। उनीहरुका अनुसार, साना हिमताल समेत जोमिखपूर्ण हुने मौसम हो यो।

हिमतालका बाँध प्राकृतिक भए पनि एकदमै कमजोर हुने र हिउँ पग्लेर तालको पानी अधिकतम तहमा पुग्ने समय जुलाई–अगस्ट भएकोले त्यही भएर ताल फुट्ने जोखिम यति बेला नै बढी हुन्छ। नेपालमा हिमताल विस्फोटका कारण आएको बाढीले क्षति पुर्‍याएको २१ वटा घटना अभिलेखमा छन्। विगतमा मार्चदेखि सेप्टेम्बर सम्म हिमताल फुटेको तथ्याङ्क छ।