काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्वर्द्धन गर्ने बताएका छन्।

उनले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको अतिक्रमणलाई भने स्वीकार नगर्ने स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत् मन्त्री भट्टराईले यी धारणा सार्वजनिक गरेका हुन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बद्र्धन गरिने छ। स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ। व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई भने स्वीकार गरिने छैन। कुरा यही हो।’

उनले सरकारले सबैसँग छलफल गरेर यसबारेमा सहमति बनाउने पनि बताएका छन्। पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनामा पश्चिम ढोका भत्काउने, ब्रह्मनाल स्थानान्तरण गर्नेलगायतका विषय समेटिएको सार्वजनिक भएपछि सम्पदाविद जनप्रतिनिधिले विरोध गर्दै आएका छन्।