काठमाडौँ। राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीहरू आजदेखि क्वारेन्टाइनमा बस्ने भएका छन्। फिफा विश्वकप २०२२ कतारको छनोट चरण अन्तर्गत दशरथ रङ्गशालामा हुने खेलका लागि तयारी गर्न उनीहरु क्वारेन्टाइनमा बस्न लागेका हुन्। 

खेलाडीहरूको दुई चरणमा क्वारेन्टाइन र पीसीआर परीक्षणपछि मात्र प्रशिक्षण सुरु हुने बताइएको छ। टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार  उपत्यकाबहिर रहेका खेलाडी शुक्रबार साँझसम्म राजधानी आइपुग्ने छन्। उनीहरूलाई एन्फाले होटेलमा क्वारेन्टाइनको व्यवस्था गरेको छ। केही दिन क्वारेन्टाइनमा बसेपछि सबै खेलाडीको पीसीआर टेस्ट गरिनेछ। 

कोरोना सङ्क्रमणका कारण स्थगित भएका खेलहरू नयाँ खेल तालिका अनुसार नेपालले दशैं र तिहारअघि आफ्नो खेल खेल्नेछ। छनोट अन्तर्गत समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको छ। नेपालले बाँकी तीनै खेल आफ्नो घरेलु मैदान दशरथ रङ्गशालामा खेल्ने कार्यक्रम रहेको छ। सुरुवाती पाँच खेलमा नेपालले १ जित र ४ हारसहित ३ अङ्क जोडेको छ। पाँच राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ।

नेपालले पछिल्लो पटक घरेलु मैदान तयार नहुँदा कुवेतसँगको खेल भुटानको चाङलिमिथाङ मैदानमा खेलेको थियो। उक्त खेलमा नेपाल १-० ले पराजित भएको थियो। त्यसअघि खेलेका ४ अवे खेलमध्ये नेपालले चाइनिज ताइपेइको मैदानमा २-० को जित हासिल गरेको थियो। उक्त जितमा दुवै गोल अन्जान विष्टले गरेका थिए।

नेपालले पहिलो खेलमा कुवेतको मैदानमा ७-० को हार बेहोरेको थियो। दोस्रो खेलमा जित दर्ता गरेपछि अष्ट्रेलिया पुगेको नेपाली टोलीले त्यहाँ ५-० को हार बेहोरेको थियो। चौथो खेलमा नेपाल जोर्डनको मैदानमा ३-० ले पराजित भएको थियो। अब नेपालले घरेलु मैदानमा चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्ने कार्यक्रम रहेको छ।

नयाँ खेल तालिका अनुसार नेपालले असोज २२ (८ अक्टोबर)मा चाइनिज ताइपेइसँग खेल्नेछ भने अष्ट्रेलियासँग त्यसको पाँच दिन पछि (असोज २७ गते) प्रतिस्पर्धा गर्नेछ। २७ कार्तिक (१२ नोभेम्बर)मा जोर्डनसँग खेल्दै नेपालले आफ्नो विश्वकप छनोट सम्पन्न गर्नेछ।