काठमाडौँ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक स्वतन्त्र मुलुक रहेको र कुनै पनि मुलुकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताएकी छिन्। पछिल्लो समययता नेपालको आन्तरिक मामिलामा चीनको हस्तक्षेप बढेको आरोप लागिरहँदा उनले मुलुकबीच विकास र द्विपक्षीय सहयोगबारे विचार आदानप्रदान हुनु भनेको एउटा सामान्य कूटनीतिक कार्य भएको र सामान्य भेटघाट आन्तरिक मामिलामा हस्तक्षेपका रूपमा लिने नहुने जिकिर गरेकी हुन्।

नयाँ पत्रिकाका लागि नरेश ज्ञवालीसँगको अन्तरवार्तामा उनले भनेकी छन्, ‘नेपालको छिमेकी मित्रका रूपमा हामी नेपालले स्थायित्व र एकता कायम राखेको हेर्न चाहन्छौँ। जुन राष्ट्रिय विकासको पूर्वसर्त हो। नेपाले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सरेको छ र आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्न कटिबद्ध छ। हामी नेपालको प्रयासको सम्मान र समर्थन गर्छौँ।’

कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय भएको उनले स्पष्ट पारिन्। ‘हामीलाई आशा छ, दुई मुलुकले आफ्ना असहमति मित्रवत् छलफलमार्फत ठीकसँग सुल्झाउनेछन्। र, परिस्थितिलाई जटिल बनाउन सक्ने कुनै पनि एकपक्षीय कारबाहीबाट जोगिनेछन् भन्नेमा हाम्रो विश्वास छ,’ उनको भनाइ छ।

उनले नेपाल र भारतबीचको विवादमा चीनलाई अनावश्यक ढंगले मुछ्ने प्रयास भइरहेको पनि जिकिर गरिन्। ‘मैले के नोटिस गरेकी छु भने जब–जब नेपाल–भारतबीचको सम्बन्धमा उतारचढाव आउँछ, त्यसमा चीनलाई तान्न केही शक्तिले प्रयास गरिरहेका हुन्छन्। उनीहरू हुँदै नभएका विषय रचना गरेर अफवाह फैलाउन थाल्छन्। यसले हामीलाई एकदमै अलमल पार्ने गरेको छ। यी हर्कतले चीन–नेपाल मित्रताको समग्र स्थितिलाई खलल पुर्याउनेछैन भन्नेमा म विश्वस्त छु,’ उनले भनिन्।

नेपाल र चीनबीच हस्ताक्षर भएदेखि नेपाल आधिकारिक रूपले नै बिआरआईको एउटा महत्वपूर्ण सहभागी बनिसकेको स्पष्ट पारिन्। त्यस्तै, एमसिसीको कुरा त्यो नितान्त नेपाल र अमेरिकाबीचको विषय भएको बताउँदै उनले म बिआरआईलाई एमसिसीसँग तुलना गर्न नचाहेको बताइन्। ‘क्षेत्रीय शान्ति र स्थायित्वका लागि नेपालले आफ्नो राष्ट्रिय हितका आधारअनुरूपको छनोट गर्नेमा हामीलाई विश्वास छ,’ उनको भनाइ छ।