काठमाडौँ। उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ। आफूलाई बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’ भन्दै धम्की दिएको भट्टले बताएका छन्। 

एमसीसीको पक्षमा आफूले बोल्दै आएकाले ज्यान मार्ने धम्की आएको भट्टको भनाइ रहेको छ। उनले भने, ‘मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिनु भएको छ। उनले भने, ‘मैले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दाचाहिँ उहाँले थाहा छैन भन्नु भयो।’

संसद्को उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेश बारेको छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन्। अहिले नेटवर्किङ व्यवसायमा पनि एमसीसीमा जस्तै मान्छेले बुझ्दै नबुझी विभिन्न टिकाटिप्पणी गरिरहेको उनले दावी गरे।