काठमाडौं। रुकुमपश्चिमको सोती हत्याकाण्डका मृतकका परिवारलाई कलाकारहरुले संकलन गरेको ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ। बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका मेयर सिपी घर्ती मगरलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।

गत जेठ १० गते सोतीकी युवतीसँग बिहे गर्न गएका नवराज विश्वकर्मा र उनका साथीहरुले स्थानीयले कुटपिट गरेका थिए। अन्तरजातीय बिहे गर्न गएका नवराजलाई स्थानीयले बाटोमा थुनेर कुटपिट गरेका थिए।

हत्या गरिएका नवराज विक र अन्य ५ जनाको परिवारलाई सहयोग गर्न कलाकारहरुले सहयोग संकलन थालेका थिए। गायक तथा अभिनेता यश कुमारको पहलमा सहयोग रकम संकलन गरिएको थियो।

रुकुम जाजरकोट हत्याकाण्डपछि यशकुमारको अध्यक्षतामा रुकुम पश्चिम सोती नरसंहार सहयोग संकलन अभियान थालिएको थियो। आर्थिक सहयोगका लागि गोफण्डमीबाट सहयोग आह्वान गरिएको थियो। सहयोगका लागि विभिन्न देशमा भएका नेपाली र कलाकारले समेत अर्थिक संकलन गरेका थिए।