काठमाडौं। साउन १५ मा शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर साउन १५ मनाइँदै छ।

असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलनको विशेष सांस्कृतिक महत्त्व छ। बाग्मती अञ्चल आयुर्वेद औषधालयमा कार्यरत चिकित्सक डा अञ्जु कार्की भन्छिन्। ‘खीर धेरैको प्रिय भोजन हो। यसको सांस्कृतिक र औषधिजन्य महत्व छ।’ खीरले मानिसमा रोगसँग लड्ने क्षमता बढाउने हुँदा कोरोना भाइरस (कोभिड–१९) को विरुद्ध शरीरलाई तन्दुरुस्त राख्न खीर उपयोगी हुन्छ। गोठ धुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुुँदा सांस्कृतिक रूपमा पनि खीरलाई पवित्र भोजन मानिन्छ।

डा. कार्कीका अनुसार आयुर्वेद शास्त्रमा खीरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुणका छन्। खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ। ती सबै वस्तुमा औषधीय गुुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। ‘खीर सहजै पचाउन गाह्रो पर्ने खाद्य परिकार हो, यसलाई पाचनयोग्य र मीठो बनाउनका लागि मसलाको मात्रा मिलाउनुपर्छ,’ डा. कार्की भन्छन्।

ल्वाङले पाचन प्रणाली तथा मरिचले श्वासप्रश्वास ठीक गर्छ। दालचिनीले फोक्सो सुनिन नदिने तथा पेटमा वायु फुलाउँदैन भने नरिवल वीर्यवद्र्धक, बलकारक, अम्लपित्तनाशक र हृदयलाई हितकारी मानिन्छ। खीरमा प्रयोग हुने वस्तुहरूमा रोगसँग लड्ने औषधीय गुण हुन्छ। अन्य मसला खीरमा नमिसाएर नरिवल मात्र मिसाउँदा पनि निकै लाभ दिने डा कार्कीको भनाइ छ। यो समाचार आजको गोरखापत्रमा छापिएको छ।