काठमाडौँ। चीनमा पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। साढे तीन महिनापछि चीनमा सबैभन्दा बढी संक्रमित पहिचान भएको रोयटर्सले उल्लेख गरेको छ।

चीनको वुहानबाट सुरु भएको भाइरस विश्वभर फैलिरहँदा चीनमा भाइरसको संक्रमण नियन्त्रण गर्ने प्रयासहरु भएका थिए। कन्ट्याक्ट ट्रेसिङ र परीक्षण बढाउँदै चीनले संक्रमण दरलाई रोक्न सफल भएको थियो। तर पछिल्लो केही समययता चीनमा फेरि भाइरसको संक्रमण देखिन सुरु भएको छ।

भाइरसको संक्रमण फेरि बढेसँगै चीनले संक्रमित भेटिएका स्थानहरुमा केही सेवाहरुमा प्रतिबन्ध लगाएको छ।

चीनमा हालसम्म ८४ हजारभन्दा बढीमा भाइरसको संकरमण देखिएको छ भने ४ हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ।