काठमाडौँ। नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नेबारे अन्योल भएको छ। सन्दीपले सीपीएल खेल्नका लागि अबको एक हप्ताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ। यसका लागि अहिले सम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन। 

हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सीपीएल खेल्न पठाउनेबारे यकिन हुन नसकेको बताइएको छ। सरकारले गएको बुधबार बन्दाबन्दीको अन्त्य गरे पनि अन्तर्राष्ट्रिय हवाई उडान भने कोरोना भाइरसको कारण आउँदो भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेको छ। सरकारको यो निर्णयका कारण सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको हो।

सन्दीपको व्यक्तिगत पहलले टोबागो पुग्न सक्ने अवस्था नभएको र त्यहाँ पुग्ने सरकारको सहयोग बाहेक अरु कुनै उपाय नभएको पनि बताइएको छ। सन्दीप यस यामको सीपीएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसकेका छन्। उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (एक करोड ५६ लाख रुपैयाँ) मा अनुबन्ध गरेको हो। उनी त्यो टिमको मार्की खेलाडी हुन्। सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सीपीएल खेलिसकेका छन्।  

सीपीएल आउँदो भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ। सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्। 

सीपीएलमा कुल ३३ खेल हुने छन्। कोरोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन्। सन्दीप तेस्रो पटक सीपीएल खेल्ने तयारीमा छन्। उनले यसअघि सन्  २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए। त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएका थिए।

उनले यो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए। यस्तै दोस्रो पटक सीपीएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए। उनले छ खेलमा आठ विकेट लिएका थिए। सन्दीपले गएको वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए।