काठमाडौँ। प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्ज कपमा नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का उत्कृष्ट निर्णायक घोषित भएका छन्।

प्रतियोगितामा नेपालसहित भारत, मलेसिया, इन्डोनेसिया र रोमानियाका निर्णायक सहभागी थिए। प्रतियोगितामा तेक्वान्दोको पुम्से विधा तर्फ सहभागी नेपालका आठ खेलाडीले पदक प्राप्त गरेका छन्।

नेपालले एक स्वर्ण, चार रजत र तीन कांस्य पदक प्राप्त गरेको छ। मधुसूदन सापकोटाले स्वर्ण जितेका हुन्। यस्तै नेपालकी प्रगति कुइँकेलले १३-१४ उमेर समूह तथा आयुश बोहराले १५-१७ उमेर समूह तर्फ रजत जितेका छन्। 

यसैगरी १०-१२ उमेर समूहमा भिजन तामाङ र यु-९ तर्फ प्रवीण श्रेष्ठले कांस्य जिते। भने १८-३९ उमेर समूहमा पुष्पप्रसाद गौतम र चन्दु शाहीले रजत जितेका छन्। साथै महिला १५-१७ उमेर समूहमा अस्मिता नगरकोटीले कांस्य जितेकी छिन्। मङ्गलबार सम्पन्न प्रतियोगितामा १२ देशका ३७५ खेलाडीको सहभागिता थियो।