काठमाडौं। गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनतर्फ स्वर्ण विजेता सन्जु चौधरी नेपालगन्ज उपमहानगरपालिकाबाट सम्मान गर्ने भन्दै अमपनित भएकी छिन्।

नेपाल प्रहरीकी सन्जु नेपालगन्जलाई २२ वर्षपछि भारोत्तोलनमा स्वर्ण दिलाउने खेलाडी हुन्। उनले सागको महिला ५९ केजी तौल समूहमा स्वर्ण जितेका थिइन्। १३औं सागकै कास्य विजेता प्रकाश केसीलाई उपमहानगरपालिकाले ५० हजारसहित सम्मानित गर्दा सन्जु भने खालि हात फर्किन बाध्य भइन् छन्। प्रकाशले ७३ केजी तौलसमूहमा कास्य जितेका थिए।

नेपालगन्ज उप–महानगरपालिकाले मंगलबार सातौं नगरसभाको अवसर पारेर खेल क्षेत्रबाट सफलता हासिल गर्ने खेलाडीलाई सम्मान गर्ने भनेर बोलाएपनि सम्मान नगरी खाली हात फिर्ता पठाएर अपमान गरेको सन्जुले बताइन्। कार्यक्रम हुनुभन्दा केहि घण्टाअघि मात्र खबर पाएकी उनले आफू उपस्थित हुन नसक्दा आफ्नो अभिभावकलाई पठाएकी थिइन्।

‘हामी खेलाडीको स्वभिमान हुँदैन र? कुरा नमिली नबुझी सम्मान छ भन्दै बोलाउने। आफू नसके परिवारको सदस्यलाई पठाउनु भन्ने। अनि परिवारको सदस्य पुगेपछि कुरा मिलेन भनेर जानु भन्ने’, उनले फेसबुकमा लेखेकी छिन्, ‘यस्तै तरिका हो भने कुन परिवारले आफ्ना सन्तानलाई खेलाडी बन्न दिन्छ र?’